उत्तरपूर्वी जापानमा ७.५ को शक्तिशाली भूकम्प : ३० जना घाइते, ९० हजारलाई सुरक्षित स्थानमा जान आग्रह

एजेन्सी – सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३० जना घाइते भएका छन् भने करिब ९० हजार बासिन्दालाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जानुपरेको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्प स्थानीय समयअनुसार राति ११:१५ बजे आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा केन्द्रित थियो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो, जुन अहिले हटाइएको छ। यद्यपि, ७० सेन्टिमिटर (२७ इन्च) सम्मका छालहरू देखिएका थिए।
भूकम्पका कारण केही रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, अधिकारीहरूले आगामी दिनहरूमा अझ शक्तिशाली कम्पन आउन सक्ने चेतावनी दिँदै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
रोयटर्स समाचार एजेन्सीका अनुसार, करिब ९०,००० बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो। आओमोरी प्रिफेक्चर सरकारले करिब २,७०० घरमा बिजुली आपूर्ति बन्द भएको बताएको छ। पूर्वी जापान रेलवेले पनि उत्तरपूर्वी तटमा केही सेवाहरू स्थगित गरेको छ।
मन्त्रिपरिषद्का सचिव मिनोरु किहाराका अनुसार, जापानी सरकारले प्रधानमन्त्रीको संकट व्यवस्थापन केन्द्रभित्र एउटा प्रतिक्रिया कार्यालय स्थापना गरी आपत्कालीन टोली बोलाएको छ। उनले थपे, ‘हामी उद्धार र राहत कार्यहरू सहित क्षतिको आकलन गर्न र आपत्कालीन विपद् प्रतिक्रिया उपायहरू लागू गर्न हरसम्भव प्रयास गरिरहेका छौं।’
कम्पनपछि जापानी बिजुली कम्पनी तोहोकु इलेक्ट्रिक पावरले आफ्ना हिगाशिदोरी र ओनागावा आणविक ऊर्जा केन्द्रहरूमा भूकम्पको परिणामस्वरूप कुनै अनियमितता रिपोर्ट नगरिएको बताएको छ। जापानी अधिकारीहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई निष्क्रिय पारिएको फुकुशिमा आणविक ऊर्जा केन्द्र स्थलमा पनि कुनै समस्या नदेखिएको जानकारी दिएका छन्।
स्मरण रहोस्, सन् २०११ को मार्च ११ मा देशको पूर्वी तटमा आएको ९.० म्याग्निच्युडको भूकम्पले फुकुशिमामा क्षति पुर्याएको थियो। जापानमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले सुनामी निम्त्याएको थियो, जसले होन्शुको मुख्य टापुमा १८,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो।

