काठमाडाैं । भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर बसमा आगलागी हुँदा ३ जना जिउँदै जलेका छन् भने २४ जना घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर छ। भारतीय सञ्चारमाध्यमका अनुसार बस नेपाल सीमा सुनौली (रुपन्देही) बाट दिल्ली जाँदै थियो। मृतकहरूको अझै पहिचान हुन सकेको छैन। बसमा ४५ जना यात्रु थिए, जसमध्ये धेरैजसो नेपालका थिए। चालक र कन्डक्टरको अवस्था अज्ञात छ।  ट्रकसँग ठोकिँदै बस १०० मिटर परको हाई-टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो। त्यसपछि पोल भाँचिएर बसमा खस्यो र भीषण आगलागी भयो। बसमा आगलागी भएपछि यात्रुहरूको भागभाग भएको थियो। कतिपय यात्रुले सिसा फुटाउँदै बाहिर हाम फालेर ज्यान जोगाएको बताइएको छ।  भाग्न सफल यात्रुहरूले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। दुर्घटना मंगलबार बिहान २:३० बजेतिर कोतवाली देहात प्रहरी चौकी क्षेत्रको फुलवारिया बाइपासमा भएको हो।  घाइने हुनेहरूमा शिवबहादुर परियार (गुल्मी, तम्घास), पूर्णिमा परियार, कृष्णबहादुर (कावासोती), विष्णुबहादुर, अनिलबहादुर, सरस्वती, दिवाकर न्यौपाने (बुटवल) रहेका छन् ।  त्यसैगरी, दिया योगी (बुटवल), विशाल गुरुङ (गुल्मी, तम्घास), लालबहादुर (छत्रकोट, गुल्मी), उसा (गुल्मी) छन् । साथै, सुबोध अर्याल (स्याङ्जा), कमलबहादुर पौडेल (मोरङ), भुवन, छन् । घाइते हुनेमा ओमबहादुर (पाल्पा), वसन्त सर्तुंगी (तम्घास, गुल्मी), सोनाम (बुटवल), अनिसा (बुटवल), गुनबहादुर (गुल्मी), बोधबहादुर (सुनवल, नवलपरासी) र धनकुमारी छन् ।  खैरुल बुभ (भगवानपुर, बिहार) नाउद अली ( भगवानपुरबिहार, ) र विक्रम (कर्नाल, हरियाणा) पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।  बस र ट्रक एकआपसमा ठोक्किएपछि आगोको मुस्लो निस्किएको थियो ।